Sunday, April 26, 2009

हामीले हाम्रो यो माटो फगत पुर्खाबाट पाएका होइनौं तर भावी सन्ततिको निम्ति उनीहरूबाट लिएका हौं। -कृ.क.स
अङ्‌क-1 वर्ष-1 अप्रेल-2009
प्रबन्धक
विष्णु छेत्री
सम्पादक
मनोज वोगटी
सह-सम्पादक
सञ्जय राई
टङ्‌कन
भक्ति वोगटी
मुद्रण
उपमा पब्लिकेशन
सुपर मार्केट, कालेबुङ सम्पादकीय ठेगाना
प्रमुख कार्यालयः-
कृषक कल्याण सङ्गठन, डम्बर चौक पोष्ट बक्स न. 60कालेबुङ, जिल्ला-दार्जीलिङ, प.ब. भारत
सल्लाहाकारहरूः

डा. यू. श्रीवास्तव
श्री के. सलाम
डा.बी जैन
डा.ए.पाण्डे
डा. पी.एस.साबारवाल
डा. प्रवीर व्यानर्जी
डा. सुदर्शन
डा. बी.के. पाण्डे
डा. ए.रोय
डा. के.बी.पुन
डा. सामुएल
डा. सञ्जय राणा
डा किशोर थापा
श्री साजिद अली
श्री बी. शर्मा
श्री एन.पी. गुरुङ
श्रीमति गायत्री खरेल
श्री महादेव छेत्री

कृषकहरूको दायित्व

सम्पादकीय
पहाड़मा पुर्खौंदेखि हुँदै आएको कृषि पद्धतिलाई अहिलेको समयानुसार परिमार्जित गरिनु पर्ने देखिएको छ। खेतीमा विभिन्न तक्निक विकास भइसकेको छ जसलाई देशभरिका खेतीमा कार्यान्वयन गराउन भारत सरकारले विभिन्न योजनाहरू पनि तयार पारेको छ।दार्जीलिङ, विश्वमा चियाको कारण नै परिचित छ, चियालाई विश्व प्रसिद्ध बनाउन यहॉंको माटो अनि मौसमको प्रमुख भूमिका रहेको कुरा चिया पिउनेहरूलाई थाहा हुँदैन। प्रसिद्ध मानिएको चिया पिउनेहरूलाई यहॉंको माटो-बारेमा थाहा नभए पनि हाम्रा कृषकहरूलाई त थाहा हुनु पर्‍यो नी, होइन र? पहाड़लाई कृषिको निम्ति मौसम पनि वरदानस्वरूप प्राप्त छ। माटोमा प्रशस्त उत्पादन क्षमता छ तर यसलाई योजनावद्ध खेती गरेर प्रयोगमा ल्याइएको छैन। हाम्रा कृषकहरू खेती गर्छन्‌, गाई पाल्छन्‌, जानेका जति गर्छन्‌, भरपूर श्रम गर्छन्‌ तरै पनि उनीहरूको आर्थिक उन्नयन किन भएको छैन? यो अचम्भको कुरो होइन र? माटो छ, मौसम छ, पानी छ, श्रम छ, खेती छ तर त्यहॉंबाट कृषकले पाउनु पर्ने फल तथा उत्पादन छैन। दिनोदिन माटो बिग्रियो, खेती नै हुँदैन भन्नेहरूको संख्यामा वृद्धि भइरहेको छ अनि आफ्नो सुन जस्तो जमीन बेच्दै गाउँ-बस्तीबाट पलायन हुने क्रम जारी छ। पलायन भएर शहर पसेका उनीहरूले रसायनिक पद्धतिद्वारा उत्पादन गरिएको खाद्यान्न खान्छन्‌ अनि पर्छन्‌ रोगहरूको जालोमा। यो त जीवनमा आइपरेको समस्याको समाधान होइन। जमीन बेचेर पाएको पैसाले शहरमा केही इलम गरेर त खालान्‌ तर त्यो इलम पनि स्थायी अनि आर्थिक उन्नायक होला भन्ने के निश्चित हुन्छ र?
कृषकहरू गाउँ बस्तीबाट पलायन हुनु मृत्त अवस्थामा पुगिसकेको जमीन बचाउनु पर्ने दायित्वबाट भाग्नु मात्र होइन, आफ्नो परिवारलाई नै सङ्‌कट सम्मुखिन बनाउनु हो। कृषक जीवन भारत देशमा त सम्मानित हो नै अनि आफ्नो श्रमद्वारा बॉंच्ने स्वावलम्बी एवं स्वाभिमानी पनि हो। यसबाहेक कृषकहरू पर्यावरण हितैषी मात्र नभएर देशका स्वस्थ नागरिक हुन्‌। महात्म गान्धीले भनेका थिए-देशमा स्वराज तब आउँछ जब कृषकहरूमा स्वराज स्थापित हुन्छ। यस भनाईले सरकारले कृषकहरूलाई स्वरोजगार बनाउन विविध सहयोग, सहुलियत प्रदान गरिनु पर्ने योजना विकास गरिनुपर्ने कुरालाई उजागर त गरेकै छ यस बाहेक पनि देशलाई बलियो बनाउन कृषकहरूकै योगदान अनिवार्य छ भन्ने पनि सन्देश दिन्छ। अब कृषकहरूले याद राख्नु पर्ने कुरा के हो भने देशलाई स्वराज बनाउने कर्त्तव्यबाट सरकार पछि हट्‌दैछ कि कृषकवर्ग? भारत कृषि प्रधान देश हो। विश्व सॉंघुरिएर हत्केलामा अँट्‌ने भइसकेको आजको समयमा देशलाई विविध सङ्‌कटहरूबाट बचाउने भार कृषकहरूलाई नै छ। खेती दार्जीलिङ पहाड़को निम्ति प्राकृतिक एवं पारम्परिक सम्पदा हो जो आजका हरेक कृषकहरूलाई पुर्खाबाट प्राप्त छ। पहाड़मा 40 प्रतिशत मानिसहरूले खेती गर्छन्‌ भने पहाड़मा 18 प्रतिशत चिया, 2 प्रतिशत सिन्कोनाको खेती हुन्छ भने अन्य रहल जमीनमा वनजङ्गल छ। यो स्थायी आँकड़ा होइन। चिया खेती अनि सिन्कोना खेतीबारे तपाईंहरूलाई थाहा नै छ। श्रमिकहरू अहिले कस्ता परिस्थितिमा छन्‌ अनि श्रमिकहरूको आर्थिक अवस्थाबारे पनि तपाईंहरूमा अनुमान छँदैछ। वनजङ्गलको विनाश अनि पैह्रो प्रकोपबारे पनि तपाईंहरूलाई थाहा छ भने पहाड़को कृषि कुन अवस्थामा छ भन्नेबारे पनि तपाईंहरूलाई थाहा छ। माटोले उत्पादन दिन छोड्यो, खेती गरेर अब खान सकिँदैन, खेतीपातीमा अब भविष्य सुरक्षित छैन, कृषकहरूलाई सरकारी सहयोग नै छैन, कृषकहरूले कुनै सहुलियत पाएका छैनन्‌ यस्ता गुनासोहरू तपाईंहरूसित छन्‌। यति सबै कुरा थाहा हुने तपाईंहरूलाई तर गुनासो यी सबै समस्याका समाधान होइनन्‌ भन्ने कुरा के थाहा छैन र? तपाईंहरूका गुनासो अकाट्य सत्य हुन्‌। फसल राम्रो बनाउने अनि प्रशस्त पैसा कमाउने लोभमा तपाईंहरूले खेती गर्दा प्रयोग गर्नु भएको रसायनिक मलले नै माटोको हत्या भएको हो। अथवा माटोको मृत्युको जिम्मेवार खेतीमा हुने रसायनिक पद्धति नै हो भन्ने कुरा जैविक खेती सिद्धान्तले बताउँछ। फसल बँचाउन लगाइने रसायनिक औषधी, फसल वृद्धिको निम्ति लगाइने रसायनिक मल अनि त्यही माटोमा कुनै ज्ञान बिना जानेको जत्ति सबै खेती गर्ने अज्ञानता नै माटो मृत्युको कारक हो भने फसल नै हुनु छोड्यो भन्ने तपाईंहरूको गुनासो कसका निम्ति? अवश्य हो, खेती हुन छोड़ेपछि जीविकोपार्जन गर्न सकिँदैन अनि अनुर्वर जमीनमा खेती गरेर कसैको पनि भविष्य सुरक्षित पनि छैन। तर कृषकहरू गुनासो गर्दै जमीन बेच्दै शहरतिर पलायन तथा कृषिबाट पलायन भए देशको अवस्था कस्तो होला? भारतमा जनसंख्या वृद्धि यस्तो समस्या हो जसको कारण देशमा खाद्य अभावको समस्या मात्र नभएर जमीनको अभाव पनि बढ्दै गइरहेको छ। देशलाई पर्ने खाद्य सङ्‌कटको मूल कारण नै कृषकहरूको पलायन हो अनि कृषकहरूको पलायनको कारण हो सरकारी सहयोगको निष्क्रियता। जनता नजागे देश ब्यूँझिने प्रश्न उठ्‌दैन भन्ने कुरा अब सबैले थाहा पाइराख्नु पर्ने कुरा हो। नानी रोए मात्र आमाले दूध खुवाउने हो, नानी नरोए आमाले नानीको भोकप्रति उस्तो चासो राख्दैन अनि बेवास्ताको जन्म यहॉंबाट नै शुरू हुन्छ। नानी नरोएर दूध नपाएको जस्तै अवस्था पहाड़मा कृषकवर्ग अनि सरकारको छैन र? भन्न के खोजिएको हो भने-अब कृषकवर्गले आफूलाई चिन्नुपर्ने समय आयो। आफूलाई चिनिए मात्र अरूलाई चिन्न सजिलो हुन्छ। म केको निम्ति खेती गर्दैछु, कसरी गर्दैछु? मलाई मेरो खेती उन्नयनको निम्ति सरकारबाट कस्ता सहयोग हुनुपर्ने, हाम्रा निम्ति सरकारले के कस्ता योजनाहरू तयार पारेका छन्‌? ती योजनाहरू हामीमाथि कति कार्यान्वयन भए? सरकारी सहुलियतहरू हामीले कसरी, कुन माध्यमबाट प्राप्त गर्न सक्छौं, सहुलियत प्राप्त गर्नु भन्दा अघि आफूले निर्वाह गर्नु पर्ने भूमिका के हो? एक कृषकको आफैप्रतिको लगायत परिवार, समाज अनि देशप्रतिको दायित्व कस्ता हुन्छन्‌? भन्ने कुरोको आत्ममन्थन नभएसम्म कृषकवर्गको कुनै पनि सपना साकार हुनेवाला छैन। यसकारण नै अबका कृषकवर्ग सबै सचेत हुन जरूरी छ। उहिले हाम्रा निरक्षर पुर्खाहरूले हामीलाई बँचाउन खेती गर्थे, उनीहरूसित आफ्नै खेती गर्ने तरिका थियो, खेतीप्रतिको आफ्नै धारणा थियो तर समय सधैँ त्यही रहँदैन। अहिले हामी शिक्षित छौँ अनि अब हामी शिक्षित भयौं, कृषकमाथिको हाम्रो धारणा परिवर्तन भयो। कृषक हुनु, समाजमा एक तल्लोवर्गका मानिस हुन्‌ भन्ने धारणाको विकास हामी शिक्षितहरूले नै गर्‍यौं। यो हीनभावना नै कृषकहरूको खेतीदेखिको पलायनको कारण हो। कृषक हुनु तल्लो दर्जाको कर्मचारी अवश्य पनि होइन। विकसित राष्ट्रतिर हेर्नुहोस्‌, खेती गर्नेहरू समाजका शिक्षितहरू छन्‌।शिक्षितहरूबाट नै खेतीको निम्ति उत्तराधुनिक प्रविधिको विकास भएको छ अनि खेती गरेर उनीहरूले सम्मानित जीवन बॉंचिरहेका छन्‌। पहाड़मा कृषक तल्लो दर्जाको कर्मचारी झैं मानिने धारणा खेती पद्धतिको विकास नभएर जन्मिएको हो। खेतीलाई व्यवस्थित रूपले ग्रहण गर्न नसक्नुले हो अनि खेतीलाई नगद फसलको रूपमा रूपान्तरण गर्न नसक्नुले पनि यस्तो धारणा जन्मिएको हो। यसै कारण पहाड़का कृषकवर्गलाई लिएर पहाड़को कृषि व्यवस्थित गराउन कृषक कल्याण सङ्गठन जन्मिएको छ। जस अन्तर्गत पहाड़भरि विभिन्न कृषक सङ्घ, क्लस्टर, स्व-निर्भर दलहरूको गठन भइरहेको छ। आगामी अङ्‌कमा कृषक सङ्घहरूले सङ्गठनमार्फत के कस्ता कार्य गर्न सक्नेछन्‌ त्यसबारे चर्चा गरिनेछ।

जैविक खेती-1

जैविक क्रान्ति
जैविक खेती मूलतः हाम्रै देशमा शुरू भएको हो। यो खेती मुख्य रूपमा भारत अनि चीनमा लगभग चार- सॉंढ़े चार हजार वर्ष अघिदेखि शुरू भएको हो। हरित्‌ क्रान्तिको सफलतापछि नवीनतम तक्निकी, रसायनिक मल, कीट नाशक एवं यान्त्रिक तक्निकीको प्रयोगले देशको खाद्यान्न उत्पादनमा अवश्यै वृद्धि त भएको छ तर यस नवीन कृषि प्रणाली अनि पद्धतिले कृषि भूमिको उर्वरा शक्ति अनि क्षमतालाई क्षीण बनाउँदै भूमि प्रदूषण जस्तो समस्यालाई निम्त्याएको छ। यस अतिरिक्त कीटनाशक रसायनको लगातार अनि असन्तुलित प्रयोगको परिणामस्वरूप नाशक जीवहरूको प्रतिरोधन क्षमता बढ़ेको छ। यस परिस्थितिमा उपलब्ध प्राकृतिक संसाधनको समुचित प्रयोग गरी खेती लागतमा कमी ल्याउँदै पर्यावरणीय प्रदूषणको रोकथाम तथा खाद्य एवं पेय पदार्थलाई विषाक्त हुनदेखि बचाउन जैविक खेतीको मूल उद्देश्य रहँदछ। • जैविक खेतीको सिद्धान्तखेतीबाट उपलब्ध फसल अवशिष्ट, गोबर, झारपात आदिलाई मलको रूपमा प्रयोग गर्दै रोग एवं कीरा रोकथामको प्रबन्धन हेतु प्राकृतिक एवं जैविक संसाधनको प्रयोग गर्दै रसायन मुक्त कृषि प्रणालीलाई नै जैविक खेती भनिन्छ।• जैविक खेती के हो?यो एउटा कृषि उत्पादनको प्रक्रिया हो। जसमा रसायनिक मल, कीटनाशक, वृद्धि संप्रेरक, पशु मलहरूमा मिलावट निषेध गरिएको छ।• जैविक खेतीको उद्देश्य
1. पर्यावरणीय • जैव विविधताको संरक्षण• कृषि भूमिको उर्वरता• प्रदूषणमुक्त पर्यावरण• प्राकृतिक संसाधनको संरक्षण।
2. आर्थिक
• फसलगत अधिक उत्पादन।• उत्तम गुणयुक्त खाद्यान्नको भरपूर उत्पादन।• स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा जैविक उत्पादन, विपणन अनि विकास।
3. रसायनिकः-
• उपलब्ध सस्तो प्राकृतिक संसाधनमा आधारित आत्मनिर्भर कृषि प्रणालीको विकास।• मुक्त जलवायुको उपलब्धता।• उत्तम गुणयुक्त खाद्यान्नको उत्पादन।• रसायनिक मल, कीटनाशकदेखि मुक्ति। जैविक खेती उत्पादनबाट हुने लाभः• आवश्यकता अनुसार जमीनको खन-जोत।• जैविक खेतीमा फसललाई खनिज पदार्थ माटोमा भएको सुक्ष्म जीवद्वारा प्राप्त हुँदछ।• जैविक खेतीद्वारा प्राप्त फसलमा वानस्पतिक भाग जस्तै रेशा, पात, शाखा आदि अधिक मात्रामा पाइन्छ।• जैविक खेतीमा फसलमा लागेको रोग, कीरा आदिको रोकथाम फसल चक्र तथा जैविक उपायद्वारा गरिन्छ। आधुनिक भाषामा जैविक खेतीलाई कृषि प्रणालीको एउटा पद्धति मानिन्छ। जुन पद्धतिद्वारा प्रदूषणरहित एवं पर्यावरण हितैषी वातावरणमा टिकाउ कृषि उत्पादनको निम्ति माटोलाई प्राकृतिक ढङ्गमा खन-जोत गरी यसलाई जीवित र उर्वरशील राख्न साथै अन्नबालीलाई पौष्टिकता प्रदान गर्न जैविक मलजलसित उपकारी सुक्ष्म जीवाणु (लशपशषळलळरश्र ाळलीेलशी) आदिको प्रयोग गरिन्छ।वर्त्तमान विश्वमा जुन प्रकारले विभिन्न क्षेत्रहरूमा वैकल्पिक मार्ग अनि पद्धतिहरू प्रचलनमा आइरहेको छ सोही प्रकारले कृषि क्षेत्रमा जैविक खेतीको पद्धति प्रचलनमा आएको छ जसलाई अधिक संख्यामा कृषक अनि उपभोक्ताहरूले गहन रूपमा अप्नाइरहेका छन्‌। जसको समर्थनमा जैविक खेतीको उत्पादनशीलता साथै यसको पर्यावरणीय प्रभावमा सुधार ल्याउन विज्ञान अनि आलोचनात्मक मूल्याङ्‌कनको अति आवश्यकता छ। कृषि क्षेत्रमा जैविक शब्दको प्रथम प्रयोग नर्थबर्नले सन्‌ 1940 मा उनको किताब लुक द ल्याण्ड-मा गरेको पाइन्छ। आज झण्डै एक शताब्दीपछि जैविक खेतीलाई कृषि क्षेत्रमा मूल धाराको रूपमा व्यवसायिक मात्र नभएर सामाजिक अनि पर्यावरणीय विकासप्रति पनि प्रतिवद्ध रहेको पाउँछौं। सन्‌ 1970-को दशक उता जब जैविक खेती पर्या-कृषि (शले-रसीळर्लीर्श्रींीीश)-को रूपमा पुनः अघि आयो तबदेखि यसलाई साङ्गठानिक एवं संस्थागत रूपमा दह्रिलो बनाउने पाइलाहरू चालिएको देखिन्छ। यस्तै प्रकारले सन्‌-1972-मा खऋजअच (खपींशीपरींळेपरश्र ऋशवशीरींळेप ऋेी जीसरपळल असीळर्लीर्श्रींीीश र्चेींशाशपीं)-को गठनपछि जैविक क्रान्तिले विस्तारै यस युगको कृषि क्षेत्रलाई प्रभाव पार्दै एउटा अलग्गै स्थान ओगटिसकेको छ। तथापि 1990-को दशकदेखि मात्र जैविक खेतीको वृद्धिमा सही दिशा अनि तीब्र गति आएको देखिन्छ।जैविक खेतीमा लागिपरेका कृषकहरूको कार्य, उद्देश्य अनि यस किसिमको खेतीद्वारा उनीहरू के प्राप्त गर्न चाहन्छन्‌ भन्ने प्रश्नहरूको उत्तरको निम्ति जैविक खेतीको केही मार्ग निर्देशक सिद्धान्त अथवा सूत्रहरूबारे जान्न आवश्यक छ। जैविक क्रान्तिको विकाससंगसंगै जैविक खेतीको सिद्धान्तहरूमा पनि परिवर्त्तन आएको देखिन्छ भने अहिले आएर कतिपय सिद्धान्तहरूलाई परिभाषित गरिएको छ। जुन सिद्धान्तहरू कृषि क्षेत्रमा वृहत अर्थको रूपमा प्रयोग भएको पाइन्छ। जैविक क्रान्तिलाई सबै दिशाबाट सबल अनि सफल बनाउन यी सिद्धान्तहरू प्रेरक मानिन्छन्‌ भने जैविक खेतीको वृद्धि अनि विकासको मूल जरो नै यी सिद्धान्तहरू हुन्‌।अन्तराष्ट्रिय महासङ्घ खऋजअच- ले जैविक खेतीलाई परिभाषित गर्दा निम्न सिद्धान्तहरूलाई आधार बनाएको छः-• स्वास्थ्यजैविक खेतीले माटो, बोट-विरूवा, पशुप्राणी, मान्छे साथै यस धरतीलाई एउटै दृष्टिकोणबाट हेर्दै सबैको स्वास्थ्यलाई स्वस्थ राख्दछ। यस सिद्धान्त अनुसार कुनै व्यक्ति वा समाजको स्वास्थ्यलाई उसको अथवा उनीहरूको परिवेशदेखि अलग राख्न सकिँदैन। स्वस्थ माटोमा स्वस्थ खाद्यान्न उम्रिन्छ भने स्वस्थ खाद्यान्नको सेवनले नै मान्छे, पशु-प्राणी स्वस्थ रहँदछ। जिउनको निम्ति स्वास्थ्यले नै सम्पूर्णता प्रदान गर्दछ। जसको निम्ति निरोगी हुनु मात्र होइन तर शारीरिक, मानसिक, सामाजिक अनि परिवेशीय रूपले पनि स्वस्थ रहनु आवश्यक पर्दछ।• परिवेशजैविक खेती जीवित परिवेशीय व्यवस्था अनि परिचक्रमा आधारित रहँदै यसै अनुरूप गरिन्छ। यस सिद्धान्तले जैविक खेतीलाई परिवेशीय व्यवस्थाको मूलधारासित जोड्दछ। कुनै पनि उत्पादन परिवेशीय विधि अनि पुनर्चक्र अनुरूप गरिन्छ। जैविक खेती, पशुपालन, माछापालन आदि प्रकृतिको परिवेशीय सन्तुलनभित्र अँटाएको हुनुपर्छ। जसले जैविक उत्पादन, प्रबन्धन, बिक्री वितरण अथवा उपभोग गर्छ उसले पर्यावरण अन्तर्गत भूमि, जलवायु, वासिन्दा, जैव विविधतालाई फाइदा पुर्‍याउँदै सुरक्षा पनि प्रदान गरेको हुनुपर्दछ।•स्वच्छता सामान्य वातावरण अनि जीवनका अवसरहरू माझको स्वच्छ सम्बन्धमा नै जैविक खेतीको विकास हुनुपर्दछ। यस सिद्धान्तले के कुरोमाथि जोड़ दिँदछ भने जैविक खेतीसित संलग्न व्यक्तिले मानव सम्बन्धलाई सम्बन्धित कृषक, श्रमिक, प्राविधिक, वितरक, व्यवसायी अनि उपभोक्ताहरूलाई हरतरहबाट स्वच्छताको प्रमाण दिएको हुनुपर्छ। जैविक खेतीले यस खेतीसित सम्बन्धित सबैलाई राम्रो जीवनस्तर प्रदान गर्दै खाद्य सार्वभौमिकता अनि गरीबी उन्मूलनमा योगदान पुर्‍याउँदछ। प्राकृतिक एवं पर्यावरणीय संसाधनहरूलाई उत्पादन अनि उपभोगको निम्ति प्रयोग गर्दा सामाजिक अनि परिवेशीय रूपमा न्यायोचित प्रबन्धन गरिएको हुनुपर्छ साथै यसो गर्दा भावी सन्ततिलाई विशेष ध्यान दिएको हुनुपर्छ। जैविक स्वच्छतालाई सॉंचो रूपमा पर्यावरणीय अनि सामाजिक हितको निम्ति प्रयोगमा ल्याउन खुल्ला अनि समान उत्पादन प्रणाली, वितरण अनि व्यापार व्यवस्था आवश्यक पर्दछ।•रक्षा वर्तमान अनि भावी पिँढ़ीको स्वाथ्य साथै पर्यावरणको रक्षा हेतु जैविक खेतीलाई पूर्व सतर्कता एवं जिम्मेदारीपूर्वक प्रबन्धन गरिनु पर्छ। जैविक खेती एउटा जीवित अनि आयमिक कृषि व्यवस्था हो। जुन व्यवस्था अनुसार उत्पादन दरलाई बढ़ाउन सकिन्छ। तर उत्पादन बढ़ाउँदा स्वास्थ्यलाई हानी पुर्‍याउनु हुँदैन परिणामस्वरूप, उत्पादन क्षमताको वृद्धिको निम्ति नयॉं तक्निकीहरूलाई अप्नाउँदै वर्तमान पद्धतिहरूमाथि पुनर्विचार गर्नु आवश्यक छ। साथै जैविक खेतीमा रहेको कतिपय उल्लेखनीय जोखिमहरूलाई उचित तक्निकीद्वारा हटाउनु पर्छ।

जैविक अनि पारम्परिक खेतीको तुलना

जैविक खेती पर्यावरण हितैषी अनि पर्यावरणीय रूपमा टिकाउ उत्पादन पद्धति भएपनि यस पद्धतिले अझसम्म यसको लक्ष्य प्राप्त गर्न बॉंकी नै छ भने यसको कतिवटा पद्धतिहरूलाई मुखरित गर्नु पर्ने आवश्यकता छ। यसमध्ये एउटा मुद्दा हो-जैविक फसल। यसलाई लिएर धेरैचोटी प्रश्न उठ्‌ने गर्छ-के जैविक खेतीले संसारलाई खुवाउन सक्छ? जसको उचित उत्तर यसरी दिन सकिन्छ-के पारम्परिक खेतीले सफलतापूर्वक संसारलाई खुवाइरहेको छ त? उच्च लागत, उच्च फसल उत्पादन प्रणालीले विश्व समुदायलाई खाद्य पुर्‍याउन सकिरहेको छैन। जसको कारण उत्पादन होइन तर खाद्य वितरण, सामाजिक व्यवस्थामा देखा परेको समस्या र कतिपय गम्भीर मुद्दाहरू जस्तै गरीबी, जातीयवाद, लिङ्ग असन्तुलन आदि खाद्य अभावको कारणहरू हुन्‌। धेरै वर्षदेखि अनुसन्धानकर्ताहरू जैविक अनि पारम्परिक खेती व्यवस्थाको उत्पादन, आर्थिक पक्ष, संसाधन उपयोग क्षमता, पर्यावरणीय प्रभाव अनि सामाजिक पक्षहरूमाथि तुलनात्मक अध्ययनमा लागिपरेका छन्‌। दूध उत्पादन, फल उद्यान अनि मिश्रित खेती जस्ता विविध उत्पादन व्यवस्थामाथि उनीहरूको अध्ययन जारी छ। धेरै अध्ययनहरूको परिणाम स्वरूप के पुष्टि भएको छ भने जैविक खेती उत्पादनशील अनि टिकाउ छ। उपरोक्त उत्पादन व्यवस्थामाथि गरिएको तुलनात्मक अध्ययनको केही विशेष निष्कर्षहरू निम्नलिखित छन्‌।ए जैविक प्रणालीद्वारा पारम्परिक खेती बराबर अथवा अधिक उत्पादन गर्न सकिन्छ। यद्यपि जैविक प्रणालीको निम्ति दीर्घ मियादी योजना आवश्यक पर्दछ।ए खेती प्रणाली परिवर्तन अवधी उत्पादन घट्‌ने गरे पनि खेती व्यवस्थित भएपछि उत्पादनमा वृद्धि हुन्छ।ए जैविक खेतीमा माटोको जैव गतिविधि अनि जैव विविधता अधिक रहन्छ।ए जैविक खेतीमा कतिपय फसलहरूको निम्ति अचाहिँदो झारपात र कीराहरूले समस्या उत्पन्न गराउन सक्छ।ए जैविक खेतीबाट खाद्य, मानिस अनि पर्यावरणमाथि कीटनाशकबाट हुने प्रदूषण थोरै अथवा शून्य पाइन्छ। ए जैविक खेतीको खाद्य गुणस्तरमाथि हितैषी प्रभाव हुन्छ भन्ने तथ्यले मान्यता पाइरहेता पनि यस तथ्यलाई प्रमाणित गर्न बॉंकी नै छ।जैविक खेतीको उद्देश्य प्राकृतिक प्रक्रियामा आधारित टिकाउ उत्पादन व्यवस्था हो। जसको वैशिष्ट्यहरू यसप्रकार छन्‌ः-ए स्थानीय अनि नवीनीकरणीय संसाधनहरूमा भर पर्दछ।ए सौर उर्जा अनि जैव व्यवस्थाको उत्पादन सम्भावनाहरूको उपयुक्त उपयोग गर्दछ।ए माटोको उर्वरता कायम राख्दछ।ए फसल पोषक तत्व अनि जैविक तत्वहरूको पुनर्चक्रलाई बढ़ाउँदछ।ए अप्राकृतिक जीव अथवा तत्वहरू जस्तै जीएमओएस, रसायनिक मल, कीटनाशक आदिको प्रयोग हुँदैन।ए उत्पादन व्यवस्था साथै कृषि भूमिको विविधतालाई कायम राख्दछ। ए कृषि पशुहरूलाई प्राकृतिक व्यवहार अनि उनीहरूको परिवेशीय भूमिका निर्वाह गर्ने अवस्था तयार पार्दछ।

गनेउला खेती अनि गनेउला मलबारे संक्षिप्त जानकारी

खेती प्रविधि
गनेउलाः
माटो, गोबर, केराको बोट, जैविक पदार्थ कुहेको ठाउँहरूमा सामान्यतः गनेउला पाइन्छ। यो कीराकै एउटा प्रजाति हो। जसले माटोको भित्र-भित्र दूलो पारेर अक्सिजन पास गराउन मदत्‌ पुर्‍याउँछ, माटोको उर्वरता बढ़ाउँछ। यसै गनेउलाबाट बनिएको मलले फसल उत्पादनको निम्ति फॉंटिलो मलको काम गर्छ। गनेउलाकै कुरा गर्दा प्रायः तीन हजार दुइसय प्रजातिका गनेउला संसारमा पाइन्छन्‌। भर्मी कम्पोष्टिङ अर्थात गनेउलाबाट तयार मलःगाउँ बस्ती अनि शहर क्षेत्रमा प्रत्येक दिन माटोमा कुहाउन सकिने जैविक अवशेषहरू जतासुकै फालेका हुन्छन्‌, खेतीबारीको झार-पात सुकाएर डढ़ाउँछन्‌। शहरको मैलाहरू खुल्ला ठाउँमा थुप्रो लाउँछन्‌, जसबाट एकतर्फ दूर्गन्ध सृष्टि हुन्छ भने अर्कोतर्फ पर्यावरण प्रदूषित हुँदछ। यदि यस्ता मैला-कुचैलाबाट कुहुन सक्ने अवशेषहरूलाई भर्मी कम्पोष्टिङ प्रणालीसित जोड्न सकियो भने दुर्गन्ध अनि पर्यावरण प्रदूषणको साटो उत्तम गुणको मल तयार पार्न सकिन्छ। यस मललाई खेतबारीको उर्वरता शक्ति साथै फसल उत्पादन बढ़ाउनको निम्ति सहज ढङ्गमा प्रयोग गर्न सकिन्छ। जसको निम्ति जैविक अवशेषहरूको परिमाण अनुसार गनेउला हाल्नु पर्छ र यसो गरेको दुइ-अढ़ाइ महीनामा भर्मी कम्पोष्ट तयार हुन्छ, चियापत्तीको धुलो जस्तो मल बनिन्छ। यस विधि अनुरूप तयार भएको मललाई नै भर्मी कम्पोष्ट भनिन्छ।भर्मी कम्पोष्ट तयार गर्दा निम्न लिखित जैविक अवशेषहरू मिसाउन सकिन्छः-•भान्साघर वा होटलको अवशेष। •पशुप्राणीको मल। •साग-सब्जी, अन्नबालीको अवशेष।•शहरबाट निस्केको कुहुने अवशेष। •खेतबारीको झारपात।जैविक अवशेष भन्नुको अर्थ यस्ता अवशेषहरूमा विभिन्न किटाणुहरू हुन्छ जसले सामाग्रीलाई कुहाएर मलको रूपमा परिवर्तन हुनमा सहायता पुर्‍याउँदछ। माटोमा पाइने कीरा आदिले पनि यस प्रक्रियामा सहायता पुर्‍याउँदछ। भर्मी कम्पोष्टको निम्ति चाहिने सामाग्रीः-• एकसयदेखि पॉंच हजारवटा गनेउला पाल्नको निम्ति एउटा काठको बक्साको नाप- 2ु18ु15 इञ्च हुनुपर्छ।• काठको बक्सालाई घाम पानीबाट जोगाउन कुनै छानामुनि राख्नु पर्छ।• 25000 देखि 1,00,000 गनेउला पाल्नको निम्ति सिमेन्ट र ईंटाले बनिएको पीठ(आकार-8ु3ु2),जसलाई बीचमा बारेर मल निकाल्नु सजिलो पार्नु पर्छ।• पीठ बनाएको ठाउँमा घाम पानी जोगाउन छाना लगाउनुपर्छ।• मल कति चाहिन्छ त्यही अनुसार गनेउला, गाईको गोबर र अन्य अवशेष मिसाउनु पर्छ।•गनेउलाले अण्डा पार्दछ र यसलाई बेला बेला पौष्टिक आहार र 25 दिनको अन्तरालमा मकैको पीठो दिनु पर्छ।• पानी सधैँ चाहिन्छ।भर्मी कम्पोष्ट बनाउने विधिः-क. प्रथमतः काठको बक्सा तयार पार्नुहोस्‌।ख. जैविक अवशेषहरू जस्तै भान्साघरको काम नलाग्ने साग-सब्जीको बोक्रा-खोस्टा अनि खेतबारीको झारपात, सोतर आदि मसिनो टुक्रा पारेर गोबरसित मिश्रण गरी दश बाह्र दिन कुहाउनुहोस्‌।ग. उक्त मिश्रणमाथि पानी छम्केर आर्द्धता चिसो पार्नुहोस्‌।घ. मिश्रणको परिमाण अनुसार गनेउला हाल्नुहोस्‌।ङ. पन्ध्र दिनको अन्तरालमा मिश्रणलाई कॉंटाले राम्रोसँग ओल्टाइ-पोल्टाई गर्नुपर्छ जसले गर्दा मिश्रणभित्र हावा खेल्छ अनि गनेउलालाई मल बनाउनु सजिलो पर्छ।बक्सा/पीठबाट भर्मी कम्पोष्ट निकाल्ने विधिःमल तयार भएको कसरी चाल पाउनु?मिश्रण जब चियापत्तीको धूलो जस्तो अथवा कालो हुन्छ त्यसबेला गोबर मिश्रणको कुनै गन्ध आउँदैन तब मल तयार हुँदछ। त्यस समय पानी हाल्नु हुँदैन। मल तयार भएपछि माथिल्लो भाग दुइ-चार दिनमा फुरूरू हुन थाल्छ र फुरूरू भएको मललाई एकापट्टिबाट निकाल्नु पर्छ। यसो गरेर मल निकालेपछि अन्तमा गनेउलाले भरिएको मुनिल्लो तीन-चार इञ्च भागलाई विस्तारै बाहिर निकालेर फेरि उपरोक्त विधि अनुसार बक्सामा गनेउला हालेर मल बनाउने कार्यलाई बढ़ाइराख्नुपर्छ। फुरूरू भएर निकालेको मल सिधै खेतबारीमा उपयोग गर्न सकिन्छ। तर यसरी तयार गरिएको मल साधारण गाईको मल भन्दा धेरै तिक्खर अनि कड़ा हुन्छ।कुन प्रजातिको गनेउला पाल्ने?गनेउला 45-50 दिनमा नै हुर्केर फेरि अण्डा पार्न सक्ने हुनाले छिट्टै धेरै संख्यामा बढ्दछ। आफूलाई चाहिएको भन्दा धेरै गनेउला बनिए त्यसलाई बेच्दा पनि हुन्छ। राम्रो परिणाम पाउनको निम्ति विदेशी प्रजाति-अष्ट्रेलियन ब्रीड एसेनिया फेटिड़ा गनेउला पाल्न सकिन्छ। कारण यिनीहरूको सन्तान फैलिने दर अनि मल छिट्टो धूलो पार्ने क्षमता धेरै राम्रो हुन्छ। भर्मी कम्पोष्टको फाइदाहरूः-माटोलाई मलिलो बनाइ रूखो विरूवा, साग-पात, अन्नबाली आदिलाई बढ्न मजबूत हुन, धेरै फलफूल दिन यस मलले सहयोग गर्दछ। वैज्ञानिकहरूले यस तथ्यलाई स्थापित गरी यसका गुणहरू पत्तो लगाएका छन्‌। गनेउलाले मिश्रण जैविक अवशेषहरू खाएर चियापत्तीको धूलो जस्तो मल त्याग गर्छ। जसमा नाइट्रोजन, फोसफोरस र पोटासियम अधिक मात्रामा पाइन्छ। खेतबारीमा असल फसलको निम्ति यी तत्वहरू अत्यन्त जरूरी छ। माटोको स्वास्थ्य र सुरक्षाको अन्तिम विकल्पः-हिजोआज खेतबारीमा अन्नबालीलाई विभिन्न रोगले आक्रमण गरेर फसल हुनुमा धेरै बाधा पुर्‍याएको छ। माटोको जॉंच प्रत्येक वर्ष नै गरिरहनु पर्ने समय भएको छ। यसको निम्ति कृषक परिवार सचेत हुनुपर्छ। जैविक मल माटोमा प्रयोग गरिरहँदा माटोको उर्वरता शक्ति बढ्दछ। जैविक मलबाट उमारेको साग-सब्जी, अन्नबाली, फलफूल अलिक महँगो भएपनि यसको सेवन गरे शरीरलाई धेरै फाइदा पुग्दछ। शरीरलाई निरोगी बनाउँछ। जैविक मलबाट उमारेको साग-सब्जी, अन्न आदि पकाउँदा लतक्कै पाक्छ र खॉंदा स्वाद नै रसिलो हुन्छ। सँधै खाइरहे स्वास्थ्यमा सुधार आउँछ, स्फुर्ति आउँछ, दिमाग सन्तुलित राख्दछ। घर परिवारमा बिमार कम हुन्छ र आर्थिक अवस्थामा धक्का पर्दैन। स्वास्थ्य सँगसँगै जैविक मल नै माटो बचाउने अन्तिम विकल्प मानिन्छ। रसायनिक मललाई सबैले मिलेर हटाउने सङ्‌कल्प लिनुपर्छ। कृषकहरूले विभिन्न रसायनिक मल खेतबारीमा प्रयोग गरे। केही वर्षसम्म फसल भयो तर यसरी माटोको जिवाणु मर्‍यो, माटोको उर्वरता क्षमता सकियो, फसल हुन छोड्यो, फलेको अन्नबालीको स्वाद हरायो अनि रसायनिक मलद्वारा उत्पादित फसल खानु मानिसलाई बाध्य गरायो। परिणाम स्वरूप यस्ता रसायनिक खाद्य वस्तुले मानिसको स्वास्थ्यलाई दिनोदिन बिगार्दै लगिरहेको छ। (•सौजन्य-भानु थापा)

अदुवा

खेती कसरी गर्ने?
(बिजन दरः 900-1200 किलो प्रति एकर अदुवा लगाउन सकिन्छ।रोप्ने दूरत्वः100 ग्राम अदुवाको निम्ति 11.5 फीटको दुरत्व हुनु पर्छ(ठूला बिजन भए)।अदुवाको खेती गर्नेहरूले आफ्नो बालीमा रोग नलागेको चहान्छन्‌ भने सर्वप्रथम रोप्नु अघि अदुवाको स्वस्थ्य विजन छान्नु पर्छ। अदुवा रोप्ने जमीनको चयन गर्दा पनि पानी नजमिने भिरालो परेको जमीन भए असल हुन्छ। भिरालो जमीन नभएको खण्डमा जहॉं पनि यसको खेती गर्न सकिन्छ तर जल निकासको राम्रो व्यवस्था मिलाउन पर्छ। दार्जीलिङ अनि सिक्किमका कृषकहरूले फसलचक्र भन्ने राम्ररी गर्छन्‌ यसो गर्नाले बिमारलाई अझ फैलनबाट रोक्न सकिन्छ। फसल लगाउन अघि दाल जातीय उद्भिदहरू हरित मलको हिसाबमा लगाउनु पर्छ भने फुल्न शुरू भएपछि यही जमीनमा गाड़िदिए असल हुन्छ। यसो गर्नाले माटोमा नाइट्रोजनको मात्रा बढ्‌छ। कृषकहरूले के याद राख्न पर्छ भने एउटै जमीनमा दोस्रो पल्ट पनि अदुवाकै खेती गर्न उचित हुँदैन। जमीनलाई तयारी गर्दा पात पतिङ्गरहरू सफा पारी जलाइदिए असल हुन्छ। जमीन जोत्दा बाहिरको माटोलाई पल्टाई भित्र लगाउन पर्छ अनि भित्रको माटोलाई बाहिर निस्कन दिन पर्छ। ड्याङमा होस्‌ वा पलङमा माटोलाई केही अग्लो पारी उठाइ दिनपर्छ। पलङमा लगाउने हो भने प्रत्येक पलङमा केवल 3 वटा ड्याङ लगाए असल हुन्छ। यसो गर्नाले झार गोड्न साथै जल निकासको उत्तम व्यवस्था गर्न सजिलो पर्छ। बजारमा पाइने बिजनको पानाहरू प्रायः सबै बिमारका किटाणुहरूले भरिएका हुन्छन्‌। कुनै पनि बिमार लागेको जमीनबाट उब्जनी गरिएको बिजनको प्रयोग गर्नु हुँदैन। स्वस्थ बिजनको निम्ति कृषि विभाग, वागवाणी विभाग, कृषि विज्ञान केन्द्र अनि कृषि विश्वविद्यालयहरूमा सम्पर्क गर्न सकिन्छ। कुनै पनि छिमेकी कृषकबाट बिजन ल्याइएको छ भने रोगमुक्त छ भनी पक्का हुनुपर्छ। खेती राम्रो गर्नको निम्ति कृषकहरूले आफ्नै जमीनमा बिजन उमारेको असल हुन्छ। हाम्रो समाजमा मसिना नानीहरूले अदुवा पेवा रोप्ने चलन छ जहॉं केही मात्रा अदुवा केटाकेटीले रोप्छन्‌। यसरी पेवा रोप्दा घरको ठूला व्यक्तिहरूले बिजन स्वस्थ अनि कञ्चन छ कि छैन भन्नेबारे राम्ररी निरीक्षण गर्न अनिवार्य छ। बिजन चयन गर्दा टुसा राम्रो तर पानाको मुख्य भाग चाउरी परेर सुकेको भए त्यस्तो बिजनको प्रयोग पटक्कै गर्नु हुँदैन। राम्रो बिजन चयन गर्नलाई निम्नलिखित कुराहरूमा ध्यान दिनुपर्छ। • फसल खन्दा जराहरू स्वस्थ हुनपर्छ।• पाना कञ्चन अनि मोटो पनि हुनुपर्छ। • पाना भरिलो अनि राम्रो टुसा पलाएको हुनुपर्छ।• दागी अनि पानी फोका भएको हुनुहुँदैन। • फसललाई समय-समयमा बिमारको निम्ति निरीक्षण गर्नुपर्छ, विशेष गरी पानी परिरहेको समयमा निरीक्षण गर्न बेसी जरूरत पर्छ। • बिमार लागेको बोटलाई माटोसँगै उखालेर हुनसके जलाईदिएको असल हुन्छ। • यसरी उखालिएको बोटहरूलाई खोल्सा-खाल्सी, नालीतिर फ्यॉंक्न हुँदैन। • राम्ररी फ्यॉंकिएको उद्भिदबाट बिमारका किटाणुहरू पानीमा बगी स्वस्थ जमीनमा प्रवेश गर्ने प्रशस्त सम्भावना रहन्छ। • पशु अथवा कुनै पनि मान्छेलाई फसलभित्र हिँड्न दिनुहुँदैन, उनीहरूबाट पनि बिमार सर्न सक्छ। • माऊ निकाल्ने काम होशियारसित गर्नुपर्छ। यसो गर्दा जरा अनि बच्चा पानालाई धक्का दिन हुँदैन। • हुनसके मसिनो पाना रोपी माऊ ननिकाले असल हुन्छ। • माऊ निकालेपछि माटो चढ़ाउनाले गोड़ाई कम्ती गरे पनि हुन्छ जसले गर्दा घरि-घरि बारीमा पस्न कम्ती हुन्छ। • पानी परेको दिन गोड़ाई गर्न हुँदैन।• फसललाई राम्ररी निरीक्षण गरी अघिबाटै स्वस्थ बिजन चयन गरी निशान लगाई राख्न पर्छ। • निशान लगाउँदा बलियो अनि उचित ढङ्गले गर्नपर्छ किनकि बोट ओइलिएपछि फेरि त्यसलाई खुट्याउन गाह्रो पर्छ।समस्याहरूक. जुका जुका बिजनको पानाहरू, बच्चा पानाहरू, जराहरू, माटोमा साथै फसल लगाइएको बारीभित्र सबै झार जङ्गलहरूमा पाइन्छन्‌। अरू किटाणुहरूको आक्रमण बोटमा साक्षात्‌ लक्षणको रूपमा देख्नसकिन्छ तर जुकाको प्रकोपको लक्षण भने अदुवामा थाहा गर्न सकिॅँदैन। बिजन पानाहरूमा भने ठाउँ-ठाउँमा मसिना सुनिएको जस्तो अनि चाउरी परेको जस्तो खाड़लभित्र यिनीहरू बसेका हुन्छन्‌। बारीमा कहिलेकॉंही बोटलाई पुड्को बनाइदिन्छ। यसबाहेक जुकाको अदुवामा अरू लक्षणहरू पाइँदैन। जुका पानामा साथै माटोमा पाइन्छ। यसको निम्ति निम्न लिखित तरिकाले व्यवस्थापन गर्न सकिन्छ।• बिजनका पानाहरूमाथि व्याख्या गरे झैं 51 डिग्री सेन्टिग्रेड तापमान भएको तातो पानीमा दश मिनट चोबलेर रोप्न सकिन्छ। यसो गर्नाले पानामा भएको जुकाहरू सबै मर्छन्‌। • निमको पिना अथवा निमको कुनै पनि उत्पादनहरू मल जस्तै प्रयोग गर्न सकिन्छ। यसो गर्नाले जुकाको प्रकोप कम्ती हुन्छ।• सयपत्री फूल ड्याङ माझमा लगाउन सकिन्छ। यसले जुकाहरूलाई फसल परिसरबाट टाड़ो राख्दछ।
ख। ब्याक्टेरियाब्याक्टेरियाद्वारा ओइल्याउने रोग सबै रोगहरूमध्ये मुख्य रोग हो। दार्जीलिङ अनि सिक्किममा अदुवा उत्पादन गरिने प्रायः सबै ठाउँहरूमा यसको प्रकोप छ। यसलाई सहजैसँग चिन्न सकिन्छ अनि यो एकदमै चॉंड़ो फैलिन्छ। कुनै पनि गराको एक कुनामा देखा परेको केही घण्टाभित्रै पूरा गरामा फैलन सक्छ। कुनै पनि अदुवाको बोटलाई यस किटाणुले सङ्‌क्रमण गरे पातहरू जम्मै ओइल्याएर तल्लो भागमा बटारिन्छ। रोगले आक्रमण गरेको केही दिनभित्रमा नै जम्मै पातहरू कुहुन्छ अनि बोट पुक्लुक्कै लड़्‌छ। यस्तो बोटबाट नमीठो दुर्गन्ध निस्कन्छ अनि दूधजस्तो तरल पदार्थ निस्कन्छ। यदि बोटमा ब्याक्टेरिया किटाणुसँगै ढुँढ़ी किटाणु लागेको छ भने बोट ओइलिनुको साथै पहेंलो पनि हुन्छ। यसको निम्ति निम्नलिखित तरिकाले व्यवस्थापन गर्न सकिन्छ।• जब मङ्गसिर-पुस महीनामा फसल उठाइन्छ, हतियारहरू, जस्तै कॉंटा, कोदालो, फरूवा, डोको इत्यादि राम्ररी धोएर राख्नपर्छ अथवा अर्को जग्गा प्रयोग गर्न अघि धोएर सुकाएर मात्र प्रयोग गर्नुपर्छ। •बारीभित्र कसैलाई पनि पस्न दिनुहुँदैन। गाउँ-घरमा पैकारीहरू आइ आफै अदुवा खनेर लैजाने चलन बन्द गर्न अनिवार्य छ। उनीहरू बिमारी बारीहरूमा काम गरेर आइ तपाईंको जमीनको स्वास्थ्यको ख्याल नगरी फसल उठाउन जान्छन्‌। यसो गर्दा तपाईंको जमीनमा किटाणुहरू सर्ने प्रबलता बढ़ेर जान्छ। •आफ्नो जमीनमाथि कसैले अदुवाको खेती गरेको छ भने त्यहॉंबाट आएको भल पानी आफ्नो जमीनभित्र पटक्कै पस्न दिनुहुँदैन।•खेतबारीमा ओइल्याउने बिमार लागेको खण्डमा जमीनभित्र रहेका ब्याक्टेरियाहरूलाई निमिट्यान्नै पार्न लगातार 30 दिनसम्म पानी जमाएर राख्नुपर्छ किनकि ब्याक्टेरियालाई बॉंच्नको निम्ति पानीको जरूरत परे पनि जमेको पानीमा बॉंच्न सक्दैन अनि यस्तो परिस्थितिमा सबै ब्याक्टेरिया का किटाणुहरू मर्छन्‌। • रोप्न अघि राम्ररी बिजन चयन गर्नुपर्छ अनि बिमारग्रस्त पानाहरू पटक्कै रोप्नु हुँदैन। • सकेसम्म आफ्नै बिजन उमारी प्रयोग गर्नुपर्छ अनि कसैबाट किनेर वा कुनै प्रकारले ल्याइ रोप्न हुँदैन।• बारीमा जल निकासको व्यवस्था मिलाउनु पर्छ।• रोप्नलाई तयार पारिएको पानाहरूलाई हावा नछिर्ने गरी जॉंड़ लगाउने सिसाभित्र लगाई पातलो फिॅँजाइ घाममा तीन घण्टा सुकाइदिनाले पानामा भएका ब्याक्टेरियाहरू मर्छन्‌।• यसरी नै जमीनमा भएका ब्याक्टेरियाहरूलाई मार्नलाई गराहरूमा 200 गज मोटाइ भएको कालो रङको प्लास्टिकले 30 दिनसम्म छोपिदिनुपर्छ।ग. ढुँढ़ी ढुँढ़ीबाट हुने पहेंले बिमार अर्को मुख्य बिमार हो। प्रायः जस्तो यो बिमार ओइलाउने बिमारसँग-सँगै आउँछ। यो बिमार जुकासित संलग्न भएर भण्डार गरिएकोमा धेरै नोक्सान पुर्‍याउँछ। यो पनि ओइल्याउने बिमार जस्तै दार्जीलिङ अनि सिक्किमको सबै गाउँ-ठाउँहरूमा पाइन्छ। यो पनि चॉंड़ो गरी स्वस्थ बोटहरूमा फैलन्छ। यस बिमारको चपेटमा परेपछि सबै भन्दा पुरानो पातको टुप्पो अनि धारहरू पहेंलिनु थाल्छन्‌। जति-जति बिमार छिपिन्छ, त्यति नै पातहरू पहेंलिँदै अन्तमा सबै बोट पहेंलिन्छ। बिजन अदुवाको पानाहरूमा यसको प्रकोप खुट्याउन गाह्रो पर्छ। यसको निम्ति निम्नलिखित तरिकाले व्यवस्थापन गर्न सकिन्छ।•बारीमा जल निकास राम्ररी गर्न पर्छ किन कि यसलाई फैलन पानीको आवश्यकता पर्दछ। •बिजन चयन गर्दा स्वस्थ बिजन मात्र चुन्नु पर्छ अनि किटाणु भएको, रोगग्रस्त पानाहरू पटक्कै रोप्नु हुँदैन। •जमीनलाई स्वच्छ अनि स्वस्थ राख्नुपर्छ।(साभारः हाम्रो डाइरी)

फार्मर्स क्लबको कार्यक्रम निर्देशिका

उद्देश्य
ऋणद्वारा विकास , तक्निकी हस्तान्तरण, सचेतना अनि क्षमता विकासद्वारा कृषकहरूको सर्वाङ्गीण विकास।
ख। संस्थाको विशेषतासंस्थाको विशेषताहरूलाई विस्तृत रूपमा निम्न ढङ्गमा प्रस्तुत गर्न सकिन्छ।•क्लबको आकारः एउटा क्लबमा कम्तीमा दशजना सदस्य हुन आवश्यक छ। यस भन्दा बढ़ी सदस्यहरूको संख्या जति पनि हुन सक्छ।•सदस्यताः जानेर बुझेर पनि ऋण तिर्न नचाहनेहरू बाहेक सबै कृषकहरू क्लबको सदस्य बन्नसक्छन्‌।•कार्यालय प्रभारीः अ. एउटा क्लबमा मुख्य अनि सहायक संयोजक गरी मात्र दुइजना कार्यालय प्रभारी हुनेछन्‌।आ. कार्यालय प्रभारी सम्बन्धित क्लबको कार्यक्षेत्रभित्रको वासिन्दा हुन आवश्यक छ।इ. कार्यालय प्रभारी स्वयं एक उद्यमी कृषक हुनुपर्नेछ भने कुनै राजनैतिक दलको पदाधिकारी हुनुहुँदैन।ई. जानी बुझी ऋण तिर्न नसक्ने/नचाहनेहरू कुनै प्रकारले क्लबको कार्यालय प्रभारी बन्न सक्दैनन्‌। •कार्य क्षेत्रः एउटा क्लबको कार्यक्षेत्र एउटै मात्र गाउँ भएको राम्रो तथापि सिमानाको आधारमा दुइ वा तीनवटा गाउँलाई कार्यक्षेत्र बनाउन सकिन्छ। •पञ्जीकरणः आवश्यकता छैन। •ब्याङ्‌कसित सम्बन्धःसबै फार्मर्स क्लबहरूको आ-आफ्नो कार्यालय प्रभारीहरूको नाममा संयुक्त वचत ब्याङ्‌क खाता हुनुपर्छ।•हर-हिसाब खाताः अनिवार्य रूपमा सबै फार्मर्स क्लबहरूले निम्न हर-हिसाब खाता राख्नुपर्दछ- -सदस्यता रेजिस्टर। -सभाहरूको विवरण खाता। -बही खाता।
फार्मर्स क्लबका कार्यहरूफार्मर्स क्लबको विस्तृत कार्यहरूलाई निम्न रूपमा प्रस्तुत गर्न सकिन्छ।क. गाउँका कृषकहरूलाई क्लबको सदस्यता प्रदान गर्नु, क्लबको हिसाब-किताब राख्नु, विभिन्न कृषि कार्यक्रमहरूको वार्षिक क्यालेण्डर तयार गर्नु।ख. एक महीनामा कम्तिमा पनि एउटा सभा तथा आवश्यकता अनुसार दुइ वा तीनवटा सभा डाक्नु। सभामा गैर-सदस्यहरूलाई पनि आमन्त्रित गर्न सकिन्छ।ग. ब्याङ्‌कसित असल संयोजनमा रही क्लबका सदस्यहरूलाई ऋण उपलब्ध गराउँदै ऋण प्रापक अनि ब्याङ्‌कको सम्बन्ध सुदृढ़ राख्नु।घ. कृषि क्षेत्रका विशेषज्ञहरूसित साक्षात्कार गराउनु, तक्निकी ज्ञानको विकासको निम्ति कृषि विश्वविद्यालय, बुनियादी सुविधा स्थापित गर्न विकास विभागसित अनि सम्बन्धित निकायहरूका विस्तारण अधिकारीहरूसित कृषकहरूलाई भेटघाट गराउनु। अतिथि ब्याख्याताको निम्ति गाउँ अथवा छिमेकी गाउँको गैर-सदस्य तर अनुभवी कृषकलाई निम्त्याउन सकिन्छ। ङ. कृषकहरूको पक्षमा भारी लागतको खरिदको निम्ति सहकारी लागत सर्वराहकप्रति जवाबदेही रहनुपर्छ। च. संयुक्त कार्यक्रमहरू जस्तै मूल्ययोग, उत्पादन प्रक्रिया, सामुहिक कृषि उत्पादन, क्रय-विक्रय आदि कृषकहरूको लाभको निम्ति आयोजना गर्नु।छ. सामाजिक अनि अर्थनैतिक विकास कार्यहरू जस्तै सामूहिक कार्य, शिक्षा, स्वास्थ्य, पर्यावरण अनि प्राकृतिक संसाधनहरूको प्रबन्धन आदि।
नावार्डद्वारा फार्मर्स क्लबलाई दिइने सहुलियतहरू1. फार्मर्स क्लबको उद्घाटन अनि क्लबद्वारा सचेतना शिविर आयोजनाको निम्ति रुपियॉं पॉंच हजार प्रदान गरिन्छ। 2. दक्षता विकासको निम्ति ढेड़ लाख रुपियॉंको अनुदान प्रदान गरिन्छ। 3. मीट द एक्सपर्ट कार्यक्रम अन्तर्गत विभिन्न विधाका विशेषज्ञहरूसित भेटघाट कार्यक्रमको निम्ति पन्ध्रसय रुपियॉं प्रति कार्यक्रम प्रदान गरिन्छ। 4. फार्मर्स क्लबको रखरखाउ अनि सञ्चालनको निम्ति प्रतिवर्ष तीन हजार रुपियॉं प्रदान गरिन्छ। 5. खेती लगायत ग्रामीण सम्पदा विकासको निम्ति सूद रहित सब्सीडाइज्ड ऋण प्रदान। 6. बुनियादी ढॉंचा सुधारको निम्ति रूरल इन्फ्रास्ट्रक्चर डेभलोपमेन्टद्वारा विभिन्न सहुलियतहरू प्रदान गरिन्छ।7. सृजनाशील एवं नवीन उत्पादनको निम्ति नावार्डद्वारा सफ्ट लोन प्रदान गरिन्छ।