Sunday, April 26, 2009

दार्जीलिङको गौसम्पद योजनाको राशि खड़गपूरलाई?

केही महीना अघि दार्जीलिङको पुमोङ अनि रामपुरियामा अचानक अज्ञात रोगले आठवटा गाईको मृत्युले गौपालकहरू समस्यामा परेका थिए। एकजना गौपालकको एउटा गाई मर्नु भनेको एक रोजगारलाई आफ्नो हातबाट अचानक नोकरी गुम्नु झैं रहन्छ भने गाई पालेर नै जीविकोपार्जन गरिरहेका पुमोङ र रामपुरियाका चार परिवारको अवस्था पालेका सबै गाई-बाछा मरेपछि कस्तो रह्यो होला? पहाड़को आम नागरिकलाई त्यसको अनुभव नभए पनि कृषि विभाग, जो यहॉंको कृषि उत्थानको निम्ति पहाड़मा स्थापित गरिएको छ-लाई समेत गौ मृत्युको उस्तो असर परेको भने देखिएन। कृषक सम्वाददाताले त्यस क्षेत्रको भ्रमण गर्दा गौ मृत्युले लाचार बनेका गौपालकहरू एल.बी. थापा, टेकबहादुर थापा, गोपाल थापा लगायत कल्पना राईले गाई कुन रोगले मृत्युको मुखमा पर्‍यो, थाहा नभएको बताए। उनीहरूले भने-26 जनवरीदेखि लगातार हाम्रा गाईहरू मर्न थालेकोले हामी विचल्नीमा परेका छौं। पुमोङमा एल.बी. थापाको दुइवटा, टेकबहादुर थापाको पॉंचवटा, गोपाल थापाको दुइ अनि कल्पना राईको दुइवटा गरेर जम्मा 11 वटा गाई मृत्युको मुखमा परेको थियो। प्रायः उनीहरूले दुइ लाख रुपियॉंसम्मको क्षति बेहोर्नु पर्ने भए तापनि सम्बन्धित निकाय तथा कुनै सरकारी विभागीय पदाधिकारीहरूको न त दौड़ाहा भएको न त उनीहरूलाई कुनै क्षतिपूरण नै दिइएको पनि उनीहरूले बताए। यसैबीच कृषक कल्याण सङ्गठनका महासचिव विष्णु छेत्रीले क्षेत्रको दौड़ाहा गरी गौपालकहरूसित उनीहरूको समस्याबारे जानकारी लिए। सर्वस्व गुमाउनु परेको गौपालकहरूलाई सङ्गठनद्वारा केही सहयोग राशि प्रदान गरिएको छ। गौपालकहरूले बेहोर्नु परेको हानीबाट केही राहत दिलाउन छेत्रीले तकदाह खण्ड विकास अधिकारी श्री टी. लामा मार्फत जिल्लापाललाई एउटा ज्ञापन पनि चढ़ाएका थिए। मुख्य आर्थिक श्रोत रहेका गाईहरू नै गुमाउनु परेको गौपालकहरूको निम्ति राहत सामाग्री उपलब्ध गराइनु पर्ने माग गरिएको ज्ञापनमा विभागीय अधिकारीहरूलाई के सम्झना पनि गराइएको छ भने कृषि एवं ग्रामीण विकासको निम्ति भारत सरकारले राष्ट्रिय कृषि विकास योजना तयार पारे पनि यसले दार्जीलिङ पहाड़को निम्ति कुनै सुविधा उपलब्ध गराएको छैन। राष्ट्रिय कृषि विकास योजना अन्तर्गत दार्जीलिङ जिल्लालाई गौसम्पदा विकासको निम्ति चिन्हित गरिएको अनि यस अन्तर्गत गौैपालकहरूको आर्थिक विकास अनि सुरक्षाको निम्ति वर्षेनी 15 करोड़ रुपियॉं दिइने कुरा पनि खण्ड विकास अधिकारीमार्फत ज्ञापनमा जिल्लापाललाई अवगत गराइएको छ। यसबाहेक सङ्गठनले ज्ञापनमार्फत विविध माग पनि अघि राख्यो जसमा पहाड़का ग्वाला अनि गाई दुवैको वीमाकरण हुनुपर्ने, पशु चिकित्सा योजना, ग्राम पञ्चायत एवं कृषि क्षेत्रस्तरमा उचित रूपले व्यवस्थापन गरिनुपर्ने, उन्नत जातिको कृतिम वीर्य केन्द्र स्थापना गरिनुपर्ने, पशुहरूलाई दिइने दानामा सब्सिडी हुनुपर्ने अनि दानाहरू कृषक सङ्घ एवं पञ्चायत स्तरमा पाइनुपर्ने रहेको छ। अचम्भलाग्दो कुरा पहाड़मा के देखिएको छ भने, पहाड़का कृषकवर्ग तथा गौपालकहरूलाई कृषिमंत्रालायाले गौसम्पद योजना अन्तर्गत वर्षेनी 15 करोड़ रुपियॉं दिने गरेको छ भन्ने कुरा नै थाहा छैन। उनीहरूलाई यसकारण थाहा छैन किनभने अहिलेसम्म राष्ट्रिय कृषि विकास योजना अन्तर्गत उक्त राशिबाट कुनै पनि पहल पहाड़मा गरिएको छैन। पुमोङमा लगभग खेती गरिखाने गरीब कृषकहरूले लाखौंको हानी बेहोर्नु परिरहेको बेलामा सरकारबाट पाइनुपर्ने सहुलियतहरूबाट कृषकहरू वञ्चित बन्नु पहाड़को निम्ति दुःखदायक बनेको छ। सरकारले दिए पनि बाटैमा चुहाइपठाउनेहरूको जमातमा तथा कृषकहरूको मुखको माड़ खोस्नेहरूको भीड़मा अबोप्रान्त कृषकहरूले आफ्नो अधिकार हराउन नहुने सचेतना दिँदै सम्पूर्ण पहाड़का गाई बॉंध्नेहरूलाई एकत्रित गर्दै आइरहेको कृषक कल्याण सङ्गठनका महासचिव विष्णु छेत्रीलाई कृषक-ले प्रश्न गर्दा उनले भने-अधिकार एवं सहुलियतहरूलाई उचित ठाउँमा कार्यान्वयन नगरिने तथा कृषकहरूलाई नितान्त निम्न दर्जामा राखेर हेर्ने परम्परा रहेको कारण पहाड़को ग्रामीण एवं कृषि उन्नयनको निम्ति 4.1 प्रतिशत कृषि उत्थानको निम्ति इलेभेन्थ प्लान-को अन्त्य अन्तर्गत कृषकहरूको आर्थिक उन्नयनको निम्ति दार्जीलिङ जिल्लालाई गौ सम्पद अनि दूध उत्पादक क्षेत्रको रूपमा चिह्नित गरेको छ भने यसै अन्तर्गत प्रत्येक वर्ष दिइने पन्ध्र करोड़ रुपियॉं अहिलेसम्म दार्जीलिङ जिल्लामा आइपुगेको छैन। गत वर्षदेखि शुरू गरेको राष्ट्रिय कृषि विकास योजना अन्तर्गत गौ सम्पदको निम्ति कृषकहरूको आर्थिक सुदृढ़िकरणको निम्ति दिइने उक्त राशि कहॉं छ भन्ने कुरा खुबै खोजपरक रहेको छ। थाहा लागे अनुसार दार्जीलिङ पहाड़को निम्ति कार्य गर्न उक्त राशि खड़गपूरको स्टेप नामक संस्थालाई दिइएको राशिबाट उक्त संस्थाले पहाड़मा कृषकहरूको निम्ति कतिको कार्य गरिरहेको छ, त्यसलाई अहिले पहाड़का कृषकहरूको दयनीय अवस्थाबाट स्पष्ट बुझ्न सकिन्छ। उसै पनि नाइटोको घाउको निम्ति टाउकोमा मल्हम लगाए झैं दार्जीलिङको गौसम्पद अनि दूध उत्पादनको निम्ति खड़गपूरको संस्थालाई वर्षेनी पन्ध्र करोड़ रुपियॉं दिनुबाट पनि पहाड़को कृषिको निम्ति सरकारी पहल कतिको संवेदनशील छ भन्ने स्पष्ट हुँदछ। यसबारे प्रश्न गर्दा कृषक कल्याण सङ्गठनका महासचिव छेत्रीले जिल्लापाललाई यसको सम्पूर्ण जानकारी एवं जवाब मागिएको बताए। उनले शीघ्र नै सङ्गठनको एक टोली दिल्ली गएर कृषि मन्त्री शरद् पावरसित भेटघाट गर्ने अनि केन्द्रबाट प्रायोजित योजनाहरू पहाड़मा उचित कार्यान्वयन नभएकोबारे कुराकानी गरिने पनि बताएका छन्‌ भने सांसद दावा नर्बुलालाई यसबारे आगामी संसद सत्रमा कुरा उठान गरिदिने ज्ञापन चढ़ाएको पनि उनले बताएका छन्‌।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete