Sunday, April 26, 2009

कृषकहरूको दायित्व

सम्पादकीय
पहाड़मा पुर्खौंदेखि हुँदै आएको कृषि पद्धतिलाई अहिलेको समयानुसार परिमार्जित गरिनु पर्ने देखिएको छ। खेतीमा विभिन्न तक्निक विकास भइसकेको छ जसलाई देशभरिका खेतीमा कार्यान्वयन गराउन भारत सरकारले विभिन्न योजनाहरू पनि तयार पारेको छ।दार्जीलिङ, विश्वमा चियाको कारण नै परिचित छ, चियालाई विश्व प्रसिद्ध बनाउन यहॉंको माटो अनि मौसमको प्रमुख भूमिका रहेको कुरा चिया पिउनेहरूलाई थाहा हुँदैन। प्रसिद्ध मानिएको चिया पिउनेहरूलाई यहॉंको माटो-बारेमा थाहा नभए पनि हाम्रा कृषकहरूलाई त थाहा हुनु पर्‍यो नी, होइन र? पहाड़लाई कृषिको निम्ति मौसम पनि वरदानस्वरूप प्राप्त छ। माटोमा प्रशस्त उत्पादन क्षमता छ तर यसलाई योजनावद्ध खेती गरेर प्रयोगमा ल्याइएको छैन। हाम्रा कृषकहरू खेती गर्छन्‌, गाई पाल्छन्‌, जानेका जति गर्छन्‌, भरपूर श्रम गर्छन्‌ तरै पनि उनीहरूको आर्थिक उन्नयन किन भएको छैन? यो अचम्भको कुरो होइन र? माटो छ, मौसम छ, पानी छ, श्रम छ, खेती छ तर त्यहॉंबाट कृषकले पाउनु पर्ने फल तथा उत्पादन छैन। दिनोदिन माटो बिग्रियो, खेती नै हुँदैन भन्नेहरूको संख्यामा वृद्धि भइरहेको छ अनि आफ्नो सुन जस्तो जमीन बेच्दै गाउँ-बस्तीबाट पलायन हुने क्रम जारी छ। पलायन भएर शहर पसेका उनीहरूले रसायनिक पद्धतिद्वारा उत्पादन गरिएको खाद्यान्न खान्छन्‌ अनि पर्छन्‌ रोगहरूको जालोमा। यो त जीवनमा आइपरेको समस्याको समाधान होइन। जमीन बेचेर पाएको पैसाले शहरमा केही इलम गरेर त खालान्‌ तर त्यो इलम पनि स्थायी अनि आर्थिक उन्नायक होला भन्ने के निश्चित हुन्छ र?
कृषकहरू गाउँ बस्तीबाट पलायन हुनु मृत्त अवस्थामा पुगिसकेको जमीन बचाउनु पर्ने दायित्वबाट भाग्नु मात्र होइन, आफ्नो परिवारलाई नै सङ्‌कट सम्मुखिन बनाउनु हो। कृषक जीवन भारत देशमा त सम्मानित हो नै अनि आफ्नो श्रमद्वारा बॉंच्ने स्वावलम्बी एवं स्वाभिमानी पनि हो। यसबाहेक कृषकहरू पर्यावरण हितैषी मात्र नभएर देशका स्वस्थ नागरिक हुन्‌। महात्म गान्धीले भनेका थिए-देशमा स्वराज तब आउँछ जब कृषकहरूमा स्वराज स्थापित हुन्छ। यस भनाईले सरकारले कृषकहरूलाई स्वरोजगार बनाउन विविध सहयोग, सहुलियत प्रदान गरिनु पर्ने योजना विकास गरिनुपर्ने कुरालाई उजागर त गरेकै छ यस बाहेक पनि देशलाई बलियो बनाउन कृषकहरूकै योगदान अनिवार्य छ भन्ने पनि सन्देश दिन्छ। अब कृषकहरूले याद राख्नु पर्ने कुरा के हो भने देशलाई स्वराज बनाउने कर्त्तव्यबाट सरकार पछि हट्‌दैछ कि कृषकवर्ग? भारत कृषि प्रधान देश हो। विश्व सॉंघुरिएर हत्केलामा अँट्‌ने भइसकेको आजको समयमा देशलाई विविध सङ्‌कटहरूबाट बचाउने भार कृषकहरूलाई नै छ। खेती दार्जीलिङ पहाड़को निम्ति प्राकृतिक एवं पारम्परिक सम्पदा हो जो आजका हरेक कृषकहरूलाई पुर्खाबाट प्राप्त छ। पहाड़मा 40 प्रतिशत मानिसहरूले खेती गर्छन्‌ भने पहाड़मा 18 प्रतिशत चिया, 2 प्रतिशत सिन्कोनाको खेती हुन्छ भने अन्य रहल जमीनमा वनजङ्गल छ। यो स्थायी आँकड़ा होइन। चिया खेती अनि सिन्कोना खेतीबारे तपाईंहरूलाई थाहा नै छ। श्रमिकहरू अहिले कस्ता परिस्थितिमा छन्‌ अनि श्रमिकहरूको आर्थिक अवस्थाबारे पनि तपाईंहरूमा अनुमान छँदैछ। वनजङ्गलको विनाश अनि पैह्रो प्रकोपबारे पनि तपाईंहरूलाई थाहा छ भने पहाड़को कृषि कुन अवस्थामा छ भन्नेबारे पनि तपाईंहरूलाई थाहा छ। माटोले उत्पादन दिन छोड्यो, खेती गरेर अब खान सकिँदैन, खेतीपातीमा अब भविष्य सुरक्षित छैन, कृषकहरूलाई सरकारी सहयोग नै छैन, कृषकहरूले कुनै सहुलियत पाएका छैनन्‌ यस्ता गुनासोहरू तपाईंहरूसित छन्‌। यति सबै कुरा थाहा हुने तपाईंहरूलाई तर गुनासो यी सबै समस्याका समाधान होइनन्‌ भन्ने कुरा के थाहा छैन र? तपाईंहरूका गुनासो अकाट्य सत्य हुन्‌। फसल राम्रो बनाउने अनि प्रशस्त पैसा कमाउने लोभमा तपाईंहरूले खेती गर्दा प्रयोग गर्नु भएको रसायनिक मलले नै माटोको हत्या भएको हो। अथवा माटोको मृत्युको जिम्मेवार खेतीमा हुने रसायनिक पद्धति नै हो भन्ने कुरा जैविक खेती सिद्धान्तले बताउँछ। फसल बँचाउन लगाइने रसायनिक औषधी, फसल वृद्धिको निम्ति लगाइने रसायनिक मल अनि त्यही माटोमा कुनै ज्ञान बिना जानेको जत्ति सबै खेती गर्ने अज्ञानता नै माटो मृत्युको कारक हो भने फसल नै हुनु छोड्यो भन्ने तपाईंहरूको गुनासो कसका निम्ति? अवश्य हो, खेती हुन छोड़ेपछि जीविकोपार्जन गर्न सकिँदैन अनि अनुर्वर जमीनमा खेती गरेर कसैको पनि भविष्य सुरक्षित पनि छैन। तर कृषकहरू गुनासो गर्दै जमीन बेच्दै शहरतिर पलायन तथा कृषिबाट पलायन भए देशको अवस्था कस्तो होला? भारतमा जनसंख्या वृद्धि यस्तो समस्या हो जसको कारण देशमा खाद्य अभावको समस्या मात्र नभएर जमीनको अभाव पनि बढ्दै गइरहेको छ। देशलाई पर्ने खाद्य सङ्‌कटको मूल कारण नै कृषकहरूको पलायन हो अनि कृषकहरूको पलायनको कारण हो सरकारी सहयोगको निष्क्रियता। जनता नजागे देश ब्यूँझिने प्रश्न उठ्‌दैन भन्ने कुरा अब सबैले थाहा पाइराख्नु पर्ने कुरा हो। नानी रोए मात्र आमाले दूध खुवाउने हो, नानी नरोए आमाले नानीको भोकप्रति उस्तो चासो राख्दैन अनि बेवास्ताको जन्म यहॉंबाट नै शुरू हुन्छ। नानी नरोएर दूध नपाएको जस्तै अवस्था पहाड़मा कृषकवर्ग अनि सरकारको छैन र? भन्न के खोजिएको हो भने-अब कृषकवर्गले आफूलाई चिन्नुपर्ने समय आयो। आफूलाई चिनिए मात्र अरूलाई चिन्न सजिलो हुन्छ। म केको निम्ति खेती गर्दैछु, कसरी गर्दैछु? मलाई मेरो खेती उन्नयनको निम्ति सरकारबाट कस्ता सहयोग हुनुपर्ने, हाम्रा निम्ति सरकारले के कस्ता योजनाहरू तयार पारेका छन्‌? ती योजनाहरू हामीमाथि कति कार्यान्वयन भए? सरकारी सहुलियतहरू हामीले कसरी, कुन माध्यमबाट प्राप्त गर्न सक्छौं, सहुलियत प्राप्त गर्नु भन्दा अघि आफूले निर्वाह गर्नु पर्ने भूमिका के हो? एक कृषकको आफैप्रतिको लगायत परिवार, समाज अनि देशप्रतिको दायित्व कस्ता हुन्छन्‌? भन्ने कुरोको आत्ममन्थन नभएसम्म कृषकवर्गको कुनै पनि सपना साकार हुनेवाला छैन। यसकारण नै अबका कृषकवर्ग सबै सचेत हुन जरूरी छ। उहिले हाम्रा निरक्षर पुर्खाहरूले हामीलाई बँचाउन खेती गर्थे, उनीहरूसित आफ्नै खेती गर्ने तरिका थियो, खेतीप्रतिको आफ्नै धारणा थियो तर समय सधैँ त्यही रहँदैन। अहिले हामी शिक्षित छौँ अनि अब हामी शिक्षित भयौं, कृषकमाथिको हाम्रो धारणा परिवर्तन भयो। कृषक हुनु, समाजमा एक तल्लोवर्गका मानिस हुन्‌ भन्ने धारणाको विकास हामी शिक्षितहरूले नै गर्‍यौं। यो हीनभावना नै कृषकहरूको खेतीदेखिको पलायनको कारण हो। कृषक हुनु तल्लो दर्जाको कर्मचारी अवश्य पनि होइन। विकसित राष्ट्रतिर हेर्नुहोस्‌, खेती गर्नेहरू समाजका शिक्षितहरू छन्‌।शिक्षितहरूबाट नै खेतीको निम्ति उत्तराधुनिक प्रविधिको विकास भएको छ अनि खेती गरेर उनीहरूले सम्मानित जीवन बॉंचिरहेका छन्‌। पहाड़मा कृषक तल्लो दर्जाको कर्मचारी झैं मानिने धारणा खेती पद्धतिको विकास नभएर जन्मिएको हो। खेतीलाई व्यवस्थित रूपले ग्रहण गर्न नसक्नुले हो अनि खेतीलाई नगद फसलको रूपमा रूपान्तरण गर्न नसक्नुले पनि यस्तो धारणा जन्मिएको हो। यसै कारण पहाड़का कृषकवर्गलाई लिएर पहाड़को कृषि व्यवस्थित गराउन कृषक कल्याण सङ्गठन जन्मिएको छ। जस अन्तर्गत पहाड़भरि विभिन्न कृषक सङ्घ, क्लस्टर, स्व-निर्भर दलहरूको गठन भइरहेको छ। आगामी अङ्‌कमा कृषक सङ्घहरूले सङ्गठनमार्फत के कस्ता कार्य गर्न सक्नेछन्‌ त्यसबारे चर्चा गरिनेछ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete